विषादी सेवन गर्दा पाल्पामा एक पुरुषको मृत्यु
पाल्पा । पाल्पाको रिब्दीकोटमा विषादी सेवनबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्वर ५ देविडांडा निवासी ५५ वर्षका सन्ते भनिने मेखबहादुर खड्का रहेका छन् ।
उपियाँ मार्न प्रयोग गरिने विषादी सेवन गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार, सोमबार बेलुका ६ बजे विषादी सेवन गरेका खड्कालाई प्रहरीले उद्दार गरी पाल्पा अस्पतालमा लगिएको थियो ।
उनको सोही अस्पतालमा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
