डेंगुका कारण हेटौंडाका बालकको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र २६, आईतवार १८:०२
file-photo

मकवानपुर । मकवानपुरमा डेंगु रोगका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १ चौकीटोल निवासी १३ वर्षीय बालक रहेको प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

त्यस्तै, ललितपुर जिल्लाको ग्वार्को निवासी ३६ वर्षीय एक पुरुषको पनि डेंगुकै कारण मृत्यु भएको छ । मृतक दुबै जना काठमाडौँको ग्वार्कोस्थित अस्पतालमा केही दिनदेखि उपचाररत थिए ।

बागमती प्रदेशमा हालसम्म डेंगु संक्रमितको संख्या ८ हजार ९१७ पुगेको । तीमध्ये सबैभन्दा धेरै संक्रमित ललितपुर जिल्लामा रहेको निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिए । त्यहाँ ३ हजार ७९ जना डेंगू संक्रमित बिरामी रहेका छन् ।

त्यस्तै, काठमाडौँ जिल्लामा १ हजार ७९७, मकवानपुर जिल्लामा १ हजार ४५, चितवन जिल्लामा २०५ र धादिङ जिल्लामा १२१ जनामा डेंगूको संक्रमण पुष्टि भएको निर्देशक श्रेष्ठले बताए ।