हेटौंडाबाट लागूऔषधसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र २३, बिहीबार १९:१३

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आज बिहीबार बिहान ११ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ सिंचाईँ टोलबाट ठूलो परिमाणको लागूऔषधसहित तीन जनालई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ घर भएका ३१ वर्षीय धमेन्द्र खेम्का, २६ वर्षीय रविन श्रेष्ठ र भीमफेदी गाउँपालिका वडा नम्वर ५ घर भई हाल हेटौंडा–५, सिचाईं टोल डेरा गरी बस्ने ३० वर्षीय प्रमोद कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहान विशेष सूचनाको आधारमा पुगेको प्रहरीले टोलीले धमेन्द्र खेम्काको घर चेजाँच गर्दा लुकाईछिपाई रोखको लागूऔषध नाईट्रोभेट ३ सय १६ ट्याब्लेट र अनरेक्सको १४ बोतल बरामद भएपछि निजलाई पक्राउ गरी सोधपुछ गरिएको थियो ।

सोधपुछको क्रममा प्रहरीले रविन श्रेष्ठ र प्रमोद कार्कीको कोठा चेकजाँच गर्दा उनीहरुले लुकाईछिपाइ राखेको लागूऔषध नाइट्राभेट १५ सय ४५ ट्याब्लेट र अनरेक्स ६३ बोतल बरामद गरेपछि निजहरुलाई पनि पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यस्तै, मकवानपुर प्रहरीले बिहीबार बिहान नै भीमफेदी गाउँपालिका वडा नम्वर १ बागझोराबाट लागूऔषध गाँजा १६० किलोसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १८ चनौलि बस्ने ४३ वर्षीय टेकबहादुर गुरुङ रहेका छन् ।

गुरुङलाई विशेष सूचनाको आधारमा प्रहरी चौकी भैसेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । बिहान चुनियाबाट हेटौंडातर्फ आउँदै गरेको बा २० च ६८ नम्वरको कारलाई भीमफेदी–२ भैसेस्थित रोक्न खोज्ने क्रममा नरोकी फरार भएकोले फलो गर्दै जाने क्रममा बागझोरामा पुगेर नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाईछिपाई ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि गाडी चालक गुरुङलाई पक्राउ गरिएको हो ।

साथै प्रहरीले गुरुङको साथबाट नगद १ लाख ३८ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।