श्रमिक माविको आयोजनामा विविध कार्यक्रम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित श्रमिक माविले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ ।
दिवसको अवसरमा कक्षा १ देखि १० सम्मका सबै विद्यार्थी सहभागी गराउने गरी कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिए ।
विद्यालयले कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि छिटो लेखन कला प्रतियोगिता, ४ र ५ कक्षाका विद्यार्थीका लागि अंग्रेजी उच्चारण प्रतियोगिता, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि गणित दौड प्रतियोगिता आयोजना गरेको हो ।
यसैगरी, कक्षा ९ र १० का विद्यार्थीका लागि गणित दौड प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक दाहालले जानकारी दिए । उनका अनुसार, उक्त प्रतियोगिताहरुमा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
