दुई लाखभन्दा बढीले दिए एसईईको ग्रेडबृद्धि परीक्षा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० (एसईई) ग्रेडबृद्धि (पूरक) परीक्षामा दुई लाख बढी विद्यार्थी सहभागी भएको जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले भदौ ११ गते र १२ गते परीक्षा संचालन गरेको थियो । परीक्षाको पहिलो दिन एक लाख ३९ हजार ३६२ र दोस्रो दिन ७४ हजार २८३ जना गरी २ लाख १३ हजार ६४५ जना परीक्षामा सहभागी भएका थिए ।
ग्रेडबृद्धि (पूरक) परीक्षाका लागि नेपालभर ३७२ परीक्षा केन्द्रमा तोकिएको थियो । साथै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईई ग्रेडबृद्धि परीक्षाको नतिजा दशैंअघि नै सार्वजनिक हुने जनाएको छ ।
परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण सुरु भइरहेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । अहिले विभिन्न १६ परीक्षण केन्द्रमा परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण भइरहेको छ ।
अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विषयहरु मध्ये परीक्षार्थीहरुले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेडबृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।