आसन्न निर्वाचन : मतपत्र छपाइस्थलको सुरक्षामा सेना परिचालन

तु खबर संवाददाता
२०७९ भाद्र १६, बिहीबार १६:४३

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन गरिएको छ । निर्वाचनको लागि मतपत्र छापिने सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र र स्थलको सुरक्षामा सेना परिसचान गरिने भएको निर्वाचन आयोगले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता (सहायकरथी) नारायण सिलवालले भने, ‘मतपत्र छपाइ सुरक्षास्थलमा सेनाको टिमले आफ्नो जिम्मेवारी लिइसकेको छ ।’ सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा भैरवनाथ गणबाट एउटा कम्पनीभन्दा धेरै सैनिक परिचालन गरिएको छ ।

मतपत्र छपाइस्थल सुरक्षामा ७ नम्बर बाहिनीका लक्ष्मण खत्रीलाई लियाजन अफिसर तोकिएको छ । निर्वाचन अवधिमा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षाको तयारी पनि सेनाले गरिरहेको छ । त्यस्तै, निर्वाचनमा आवश्यक सवारी साधन र बजेटबारे छलफल भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।