आसन्न निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिने
काठमाडौं । आगामी मंसिर द्ध गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ । एकैचरणमा हुन लागेको उक्त निर्वाचनका लागि हाल भएका जनशक्तिबाट मात्रै सुरक्षा व्यवस्थापन पर्याप्त नहुने निष्कर्षसहित सरकारले ठूलो संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
उनका अनुसार, एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्नका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । नेपाल प्रहरीले गत बैशाख ३० गते भएको निर्वाचनका लागि नै १ लाख १९ हजार म्यादी प्रहरी चाहिने प्रस्ताव गरेको थियो । त्यसबेला एक लाख म्यादी प्रहरी मात्रै भर्ना गर्न स्वीकृति दिएको थियो ।
संघीय र प्रादेशिक निर्वाचन हुने बेलासम्म चाँही ५ लाख बढी नयाँ मतदाता थपिएको अवस्थामा म्यादी प्रहरीको संख्या बढाइएको हो । प्रहरी प्रधान कार्यालय नक्सालले आगामी असोज ६ गतेबाट म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको जनाइएको छ । भर्ना छनौटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइनेछ ।
समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव रहनेछन् ।
यसरी छानिएका म्यादी प्रहरीले म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीषा पास गरेर भर्ना पाउनेछन् । म्यादी प्रहरीलाई नियुक्ति दिएको दिनदेखि ५० दिनसम्म काममा लगाइन्छ भने तलब र सेवासुविधा प्रहरी जवान सरह हुनेछ ।
