आसन्न निर्वाचनमा उम्मेदवारी नदिने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले आसन्न निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन् । पूर्वमुख्यमन्त्री पौडेलले शुक्रबार एक सन्देश जारी गर्दै आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका हुन् ।
उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन गर्ने बताए । सधैँ हामी मात्रै नेतृत्वमा जानुपर्छ र अरुले गर्नै सक्दैनन् भन्ने मनोविज्ञान त्याग्नुपर्ने बेला आएकाले सबैले यसतर्फ ध्यान दिनुपर्ने बेला आएको उनको भनार्इ छ ।
जारी विज्ञप्तीमा राजनीति लहड, रहर र दबाब मात्रैले नचल्ने भन्दै उनले दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेको उल्लेख गरिएको छ ।
सञ्चारमाध्यम तथा सामाजिक संजालमा आगामी निर्वाचनका सम्भावित उम्मेदवारका बारेमा चर्चा परिचर्चा पनि सुरु भइसकेको उनले उल्लेख बताए । उनले आफु निर्वाचनमा उम्मेदवार नबने पनि नेकपा एमालेलाई विजयी गराउन लागिपर्ने जारी सन्देशमा भनेका छन् ।