महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै

तु खबर संवाददाता
२०७९ भाद्र ७, मंगलवार ०९:३४
file-photo

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएको समितिका जेष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए । यो समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो ।

उनका अनुसार, बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची छ ।

साथै, समितिको सभापति चयनको विषय पनि उठ्न सक्ने उनले बताए । प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोग उपर अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिले साउन २२ मा पाएको थियो ।

१ फागुन २०७८ मा ९८ जना प्रतिनिधिसभा सदस्यहरुले जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए । जबराविरुद्धको महाभियोग प्रस्ताव २९ फागुन २०७८ मा प्रतिनिधिसभा बैठकमा पेस भएको थियो । प्रतिनिधिसभाले २२ साउन २०७९ मा जबराविरुद्धको महाअभियोग प्रस्ताव, महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।