आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै, देशैभर सार्वजनिक विदा
मकवानपुर । आज भगवान कृष्णको जन्मदिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन हिन्दू धर्मावलम्बीहरुले भगवान कृष्णको पूजाआराधना गरी यो पर्व मनाउने गरिएको छ ।
द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्ण भगवानको जन्म भएको धार्मिक मान्यताका आधारमा यो पर्व मनाउने गरिएको हो । कृष्ण जन्माष्टमीका दिन विशेषगरी महिलाहरुले व्रत तथा राति जाग्राम बसेर श्रीकृष्णको आराधना गर्ने गर्दछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने र श्रीकृष्णका विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ । यस वर्ष नेपाल सरकारले कृष्ण जन्माष्टमीको अवसरमा आज (शुक्रबार) देशभर सार्वजनिक विदा दिएको छ ।
