अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी हेटौंडामा प्रभातफेरी
मकवानपुर । २२ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी प्रदेश युवा परिषद् बागमतीले ‘अन्तरपुस्ता ऐक्यबद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मुल नारासहित हेटौंडामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षतामा भएको प्रभातफेरी कार्यक्रममा सरोकारवाला संघ÷संस्था, राजनीतिक दलका युवाहरु तथा विद्यार्थीहरुको सहभागिता रहेक़ो थियो ।
युवामा उद्यमशीलता र नेतृत्व एवम् क्षमताको विकास गर्दै विकास निर्माणको मुलप्रवाहमा संलग्न गराई सम्मृद्ध प्रदेश निर्माण गर्ने अभियानको शुरूवात गर्न युवा दिवसबाट प्रेरणा मिल्ने परिषद्का उपाध्यक्ष चौलागाईंले बताए ।
प्रदेशका युवा तथा खेलकूदमन्त्री रत्नप्रसाद ढ़कालको अध्यक्षतामा १०१ सदस्यीय मुल समारोह समिति बनाएर २४ गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम ३० गते युवाको प्रश्नमा युवा तथा खेलकूदमन्त्रीको उत्तर नामक अन्र्तक्रिया कार्यक्रम आयोजना गरी समापन हुने जनाइएको छ ।
नेपाल सरकारले १६ बर्षदेखि ४० वर्ष उमेर समूहलाई युवा समूह भनी घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई युवा भनी परिभाषित गरेको छ । उमेरको आधारमा हेर्ने हो भने भिन्नभिन्न देशले आ–आफ्नो परिभाषामा युवाको उमेर छुट्ट्याएका छन् । संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९९९ म हरेक वर्ष अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउन गरेको निर्णयसंगै औपचारिक रूपमा सन् २००० देखि अगष्ट १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउन सुरु गरिएको भएपनि नेपालले २००४ देखि मात्रै सुरु गरेको हो ।

