खोलामा डुबेर दुई बालबालिकाको मृत्यु
झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार, बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसम्म नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । सो क्रममा शिवसताक्षी–९ स्थित कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो । इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गएराति शिवसताक्षी–७ सताक्षी खोलामा दुबै जना डुबेको अवस्थामा फेला परेको हो ।
