हेटौंडामा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७९ श्रावण २२,आईतवार १६:४३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७, नागस्वतीमा ४० वर्षमाथि उमेर समूहको राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नागस्वती भेट्रान्स क्लबको आयोजनामा भदौ १८ गतेदेखि नागस्वती राष्ट्रिय भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । स्थानीय नवज्योति माविको मैदानमा हुने प्रतियोगितामा १८ टिमको सहभागिता रहने आयोजकले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

आयोजक क्लब अध्यक्ष सोमबहादुर तितुङका अनुसार प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेलको मिति भने तोकिएको छैन । खेल तालिका प्रकाशनसँगै फाइनल खेलको मिति तय गरिने आयोजक सचिव प्रदीप गौतमले जानकारी दिए ।

प्रतियोगितामा करिब १५ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको छ । हेटौंडा उपमहानगरपालिका तथा अन्य संघसंस्थाबाट सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ । क्लबको साधारणसभाबाट गरिएको निर्णयअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको हो ।