नेपाली कामदार जापान लैजानका लागि संयुक्त बैठक बस्दै

तु खबर संवाददाता
२०७९ श्रावण १९,बिहीबार १०:०४

काठमाडौं । जापानी भाषा र सीप परिक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बिहान १० बजे बस्न लागेको हो ।

बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरी भाषा र सीप परीक्षामा उत्तीर्णलाई सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउने अन्तिम तयारी भएको जनाउँदै बिहिबार संयुक्त बैठक बस्ने जानकारी दिएको थियो । सो प्रणाली अन्तर्गत कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटेल तथा रेष्टुरेन्ट, पर्यटन, निमार्ण, नर्सिङ र केयरिङलगायत १४ वटा क्षेत्रमा भाषा र सीप परीक्षा उत्तीर्ण भएका नेपालीले काम गर्ने अवसर पाउनेछन् ।