सप्तकोसीको बाँध फुट्यो, ४ हजार घर परिवार उच्च जोखिममा

तु खबर संवाददाता
२०७९ श्रावण १८, बुधबार ०९:१९
file-photo

काठमाडौं । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको छ । बुधबार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाँउ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका–६ डुबानमा परेका छन् ।

नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरेको प्रजिअ यादवले बताए ।

सप्तकोसीले धार परिर्बतन गरी पश्चिमतर्फ कटान गरेपछि बेलका नगरपालिका– २, ३, ८ र ९ उच्च जोखिममा परेको छ । उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोचमा सप्तकोशी नदि फुटेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष ४ हजार घर परिवार उच्च जोखिममा परेका हुन् ।

सप्तकोसीले नयाँ मार्ग बनाए त्यहाँ बसोबास गर्ने ४ हजार घर परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुने बराह क्षेत्र नगरपालिका– ६ का निवर्तमान वडा सदस्य श्यामबहादुर लिम्बुले जानकारी दिए । कोसी व्यारेज निर्माण गरेको बेला देखिको सो सम्झौता अनुसार भारत सरकारले बर्षेनी कटान रोक्ने प्रयास गरेपनि पूर्णरुपमा सफल हुन नसक्दा नेपाली भूभाग वर्षेनी कटान र डुबानमा पर्दै आएको हो ।