पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध

तु खबर संवाददाता
२०७९ श्रावण १८,बुधबार ०८:५०
file photo

मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएको छ । गएराति वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–३ रामचन्द्र भञ्ज्याङमा मंगलबार राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, पहिरोका कारण हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दुरीको मार्ग भएर संचालन हुने सवारीसाधन रातिदेखि नै बैकल्पिक सडक प्रयोग गरेर संचालन भइरहेको छ । उक्त सडकमा आज अपराह्न सम्ममा पहिरो हटाएर यातायात संचालनमा ल्याउने तयारी भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।

यस्तै, पहिरो जाँदा कान्तिराजपथ सडकखण्ड पनि अवरुद्ध भएको छ । हेटौंडाबाट ललितपुर हुँदै काठमाडौं जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ । बर्खायाम लागेसँगै विभिन्न स्थानहरुमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ ।

यसैगरी, मुग्लिन संडकखण्ड पनि अवरुद्ध भएको छ । विभिन्न स्थानको पहिरो हटाई हिजो साँझ मात्रै संचालनमा ल्याएको उक्त सडकखण्डमा गएराति फेरी पहिरो जाँदा यातायात अवरुद्ध भएको हो ।

पहिरोका कारण मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि पूर्व र पश्चिम क्षेत्रबाट काठमाडौंतर्फ जाने दिवा सेवाको बसहरुलाई आवश्यकता हेरेर त्रिभुवन राजपथबाट काठमाडौं जान अनुमति दिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, उक्त राजपथको विभिन्न सडकको मोर्ड साघुँरो भएको कारणले यात्रुको सुरक्षालाई मध्यनगर राख्दै मुग्लिन सडक संचालनमा नआएसम्म आवश्यकता हेरेर मात्रै बस त्रिभुवन राजपथबाट संचालन गर्नदिने भएको हो । रात्री सेवाको बसलाई भने उक्त सडकखण्डबाट संचालन गर्न रोक लगाइएको छ ।