कास्कीमा पहिरोमा परी १ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण १६, सोमबार ०९:०६
file-photo

पोखरा । कास्कीको पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ । गएराति करिब १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घरमा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्वर १ भुर्जुङखोला तातोपानी घर भएका उनलाई १ बजेर ५५ मिनेटमा उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएको थियो । सन्तोषलाई डाक्टरहरुले २ बजेर २० मिनेटमा मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।

पहिरोमा परेर सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार र उनकी १० वर्षीया छोरी सिम्रन सुनार घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुमा बाहिरी चोट नदेखिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।