विज्ञापन प्रकाशन नगर्ने १४८ मेनपावर कम्पनीलाई जरीवाना

तु खबर संवाददाता
२०७९ श्रावण १३,शुक्रबार १६:३१

काठमाडौं । विज्ञापन प्रकाशन नगर्ने १४८ वटा मेनपावर कम्पनीलाई जरीवानासहित कारबाही गरिएको छ । वैदेशिक रोजगार विभागले २०७९ को साउन ३ र ४ मा विज्ञापन प्रकाशन गर्न विभागबाट पूर्वस्वीकृति लिई राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन नगर्ने मेनपावर कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरीवाना गरेको हो ।

साउन ३ गतेका लागि स्वीकृति लिएका ५५ र ४ गतेका लागि स्वीकृति लिएका ९३ मेनपावर कम्पनीलाई जरीवाना गराइएको विभागले जनाएको छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार कोटामा कामदार माग भएमा मेनपावर कम्पनीले राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने हुन्छ । त्यसरी विज्ञापन प्रकाशन नगर्ने कम्पनीलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ बमोजिम जरीवाना गरिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।