हेटौंडा उपमहानगरले दश हजार लिटर खानेपानी निः शुल्क प्रदान गर्ने

तु खबर संवाददाता
२०७९ श्रावण १३, शुक्रबार ०८:४८

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले मासिक १० हजार लिटरसम्म खानेपानी निः शुल्क प्रदान गराउने भएको छ । बिहीबार उपमहानगरमा मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले मासिक न्यूनतम शुल्क ८५ रुपैयाँ बराबरको १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको उपमेयर राजेश बानियाँले जानकारी दिए । उनका अनुसार, उक्त निर्णय खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका २३ हजार ५ सय धाराको हकमा मात्र लागू हुनेछ । उनले बताए ।

उक्त सुविधाबाट १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने दाबी गरिएको छ । खानेपानी उपलब्ध गराएबापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने जनाइएको छ । सत्तारुढ गठबन्धनले चुनावको समयमा न्यूनतम शुल्क बराबरको खानेपानी र विद्युत् निःशुल्क उपलब्ध गराउने घोषणा गरेका थियो ।

उपमहानगरको वार्षिक नीति तथा कार्यक्रममा समेत यस एजेन्डाको विषय समेटिएको थियो । उपमेयर बानियाँले अन्य उपभोक्ता समितिमार्फत खानेपानीको प्रयोग गर्दै आएका नागरिकहरुको हकमा विषेश निर्णयबाट आफ्नो प्रतिवद्धता पुरा गर्ने बताए ।