हेटौंडामा धार्मिक साइकलयात्रा
मकवानपुर । हिमालयन राइर्डस सोसाईटी हेटौंडाले आज शनिबार बिहान धार्मिक साइकलयात्रा कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा आसपासमा रहेर ओझेलमा परेका मठमन्दिरलाई साइकलको माध्यमबाट उजागर गर्ने उद्देश्य र साइकलमैत्री सहर बनाउने लक्ष्यका साथ कोरा राइड अर्थात धार्मिक साइकलयात्राको आयोजना गरेको सो साइटीका सचिव राजु थापा मगरले जानकारी दिए ।
कार्यक्रम सोसाइटीका अध्यक्ष चेतनाथ आचार्यको अध्यक्षता एवम् हेटौंडा उपमहानगरकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको हो । हेटौंडा नगरका ११ वटा मन्दिरलाई परिक्रमा गर्दै १८ किलोमिटर साइकल यात्रा गरिएको सोसाइटीका सचिव थापा मगरले बताए ।
साइकलयात्रा हेटौंडा–४ मा रहेको भुवनेश्वर मन्दिरबाट सुरु भई कुष्माण्ड देवी मन्दिर हुँदै गोरक्षश्वर मन्दिरबाट वाइपास हुदैं तिरतिर धारा, जलेश्वर मन्दिर, वनस्खण्डी, मुत्तेश्वर, दक्षिणकाली, रुद्रेश्वर, लक्ष्मीनारायण मन्दिर हुदैं भुटनदेवी मन्दिर परिसरमा पुगेर समापन गरिएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ का अध्यक्ष सविन न्यौपाने, वडा नम्वर २ का अध्यक्ष विष्णुगोपाल महर्जन, वडा नम्वर ५ का अध्यक्ष सुशील घिमिरे, वडा नम्वर १० का फुर्वादोर्जे लामा लगायत विभिन्न मन्दिर समितिका अध्यक्ष एवम् पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
