८४ बर्षीय शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु
भक्तपुर । भक्तपुरमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर २ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकार आफ्नै घरमा मृत फेला परेका हुन् । उनको शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको अवस्थामा वृद्धको शव भेटिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए ।
प्रहरीका अनुसार घरको भुइँतलामा वृद्ध एक्लै बस्थे भने उनका छोरा बुहारी माथिल्लो तलामा बस्थे । ‘हिँडडुल गर्न नसक्ने भएकाले वृद्ध भुइँतलामा नै बस्ने रहेछन्, छोराबुहारीले खाना तल नै ल्याइदिने रहेछन्’ उनले भने ।
वृद्धको मृत्युको कारण भने खुलेको छैन । ‘वृद्ध अवस्थाको भएकाले चुरोट खाँदा लुगामा आगो लागेको पनि हुन सक्छ वा अरु नै पनि हुन सक्छ, हामी अनुसन्धान गर्दैछौं’ डीएसपी पाण्डेले भने ।
