मोरङ कारागारमा फैलियो कोरोना, एक जनाको मृत्यु
विराटनगर । जिल्ला कारागार मोरङमा कोरोना फैलिएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता कोरोना फैलिएको हो ।
कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेकामध्ये एक जनाको बिहीबार नै मृत्यु भएको कारागार स्रोतले जनाएको छ । अन्यको भने उपचार भइरहेको छ ।
बिहीबार अत्यधिक ज्वरो आएपछि कोसी अस्पतालमा गरिएकामध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो । कोरोनासँग मिल्दो जुल्दो लक्षण भएपनि मृतकको भने कोरोना जाँच भएन् । ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनलाई १०४ डिग्री ज्वरो आएको थियो । उनको शव बुझेर आफन्तले लगिसकेका छन् ।
बिरामी भएकामध्ये १६ जनालाई एन्टिजेन पोजेटिभ र दुई जनाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षण छ । बिहीबार अस्पताल भर्ना भएका विरामीको आज एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कोसी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, सबैको पीसीआर गर्ने तयारी भइरहेको छ ।
