मकवानपुर क्याम्पसका संस्थापक प्रमुखको प्रतिमा अनावरण
मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक प्रमुख स्वर्गीय मुकुन्द दास श्रेष्ठको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । श्रेष्ठको प्रतिमा बिहीबार क्याम्पस सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले संयुक्त रुपमा अनावरण गरेका हुन् ।
२०३७ सालमा स्वीकृत पाई २०३८ सालबाट पठनपाठन सुरु भएको क्याम्पसको स्थापनाकालदेखिनै स्वर्गीय श्रेष्ठले क्याम्पस प्रमुखको रुपमा काम गरेका थिए । क्याम्पस सञ्चालन गर्ने तयारी भए पनि दक्ष जनशक्तिको अभावमा मुकुन्द दास श्रेष्ठ त्रिचन्द्र क्याम्पसबाट काजमा मकवानपुर क्याम्पस आएका थिए । स्व. श्रेष्ठले स्थापनाकालदेखि २०४५ माघ १० गतेसम्म मकवानपुर बहुमुखी क्याम्पसको प्रमुख भएर काम गरेका थिए ।
संस्थापक प्रमुख श्रेष्ठको प्रतिमा मकवानपुरकै मूर्तिकार लक्ष्मण भुजेलले निर्माण गरेका हुन् । श्रेष्ठको प्रतिमा बनाउन हेटौंडा उपमहानगरपालिकाले ४ लाख, क्याम्पसले ५५ हजार र क्याम्पसका पूर्व विद्यार्थहरुले समेत आर्थिक सहयोग गरेका छनु ।
