हेटौंडाकी सुनारलाई बाख्रा सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ की शोभा सुनारलाई ५० हजार रुपैयाँ बराबरको बाख्रा सहयोग भएको छ । दलित, विपन्न तथा अपाङ्ग रहेका सुनारलाई हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा ७ वटा बाख्रा सहयोग गरिएको हो ।
सुनारलाई बुधबार एक कार्यक्रमबीच हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मुक्तानले उक्त बाख्रा हस्तारन्तरण गरेका हुन् । रातोमाटे ठूलो दमार सुकौलीको सुनारलाई ६ वटा पाठी र १ वटा बोका गरी ७ वटा बाख्रा सहयोग गरेको वडाध्यक्ष मुक्तानले बताए ।

उक्त बाख्रा हस्तान्तरण गर्दै वडाध्यक्ष मुक्तानले आफुले यसअघि पनि धेरै सामाजिक कामहरु गरेको र आगामी दिनमा पनि गरिब, जेहेन्दार र विपन्नहरुको पहिचान गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, सुनारले आफुलाई बाख्रा सहयोग भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै प्रकारका सहयोगहरुको अपेक्षा गरेको बताइन् । बाख्रा हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्यहरुको सहभागीता रहेको थियो ।
