आजको प्रदेशसभा बैठकमा एमालेका अधिकांश सांसद् अनुपस्थित हुने

तु खबर संवाददाता
२०७९ असार २९, बुधबार १०:१३

मकवानपुर । आज बुधबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अधिकांश सांसदहरु अनुपस्थित हुने भएका छन् । पूर्व निर्धारित कार्यतालिका अनुसार, पार्टीको आन्तरिक कार्यक्रम र बैठक राखिएकाले प्रदेशसभाको बैठकमा एमालेका सांसदहरु अनुपस्थित हुने भएका हुन् ।

एमालेले आधिकारिक रुपमा संसद् बैठक बहिस्कार नगरेको तर, बहुमत सांसदहरु पार्टीको बैठक र कार्यक्रममा सहभागि हुनुपर्ने भएकाले अनुपस्थित रहने नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए ।

उनका अनुसार, समय अनुकुल हुने एमालेका सांसदहरु भने बैठकमा सहभागि हुनेछन् । एमालेले आजको बैठक आगामी साउन २ गतेका सार्न लागि भनिएपनि सभामुख सानुकुमार श्रेष्ठले बैठकको मिति प्रस्ताव गरेको उनले बताए ।

बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । गत असार १६ गते प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक आज बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।