वन विज्ञान अध्ययन संस्थानलाई सहयोग गर्न तयार : मेयर लामा

तु खबर संवाददाता
२०७९ असार २७, सोमबार ०९:३२
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले वन विज्ञान अध्ययन संस्थानको विकास र संरक्षणको लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी थप सुदृढ गर्नुपर्ने बताएकी छिन् ।

मेयर लामाले त्रिभुवन विश्वविद्यालयको ६३ औं वार्षिक उत्सवको अबसरमा वन विज्ञान अध्ययन संस्थानले आयोजना गरेको सम्मान कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएकी हुन् ।

उनले वनविज्ञान अध्ययन संस्थानको शैक्षिक तथा भौतिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । एउटै भौतिक संरचनामा दुई वटा अध्ययन संस्थान भएकोले कागजमा मात्र नभएर भौतिक रुपमा पनि अलग हुनको लागि भौतिक संरचना बनाउनु पर्ने र विबाद समाधान गरिनुपर्ने उनको भनाई छ ।

कार्यक्रम अध्ययन संस्थानका प्रमुख शिबकुमार मानजनको अध्यक्षतामा भएको हो । सो कार्यक्रममा पूर्ब कर्मचारी तथा प्रध्यापकहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।