हेटौंडामा मनाइयो बकर इद
मकवानपुर । मुस्लिम समुदायहरूको बकर इद बागमती प्रदेशको राजधानी हेटौंडामा पनि धुमधामका साथ मनाएको छ । बकर इदको दिन हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भैरवरोडमा अवस्थित नेपाली जामे मस्जिद सहितका मस्जिदहरूमा इस्लाम धर्मावलम्बीको निकै नै चहलपहल देखिएको थियो ।
रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढ्ने गरिन्छ ।

नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने संस्कार रहेको छ । बकर इद पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । पशुबलीको मासु तीन भागमा बाँडी वितरण गर्ने गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ।
