विद्यार्थीमाथि यौन दुर्व्यवहार प्रकरणः ‘चुनाव हारेको चोटमा वडाध्यक्ष फसाउन खोजियो’
मकवानपुर । नेपाली कांग्रेस कैलाश गाउँपालिका कार्यसमितिले आफ्नो पार्टीबाट निर्वाचित वडाध्यक्षलाई यौन दुर्व्यवहारको आरोप लगाएर फसाउन खोजिएको आरोप लगाएको छ । राष्ट्रपति रनिङशिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेल्न हेटौंडा आएका एक विद्यार्थीलाई कैलाशका एक वडाध्यक्षले यौन दुर्व्यवहार गरेको भन्दै समाचार बाहिरिएपछि कांग्रेसले यस्तो बताएको हो ।
शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस कैलाश गाउँपालिका कार्यसमितिले यौन दुर्व्यवहारको विषयमा सत्यतथ्य छानबिन गर्न माग समेत गरेको छ । ‘कैलाश गाउँपालिका–९ नम्वर वडा अध्यक्षमाथि लागेको आरोपको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ’, गाउँपालिका सभापति राजेन्द्र घिसिङले भने, ‘जननिर्वाचित वडा अध्यक्षलाई अनाहकमा यौन दुर्व्यवहार जस्तो घृणित आरोप लगाउने राजनीतिक दलप्रति घोर भत्सर्ना गर्दछौं । राजनीतिक रुपमै प्रतिस्पर्धाको लागि समेत आव्हान गर्दछौं ।’
घटनाको सत्यतथ्य नबुझी एकलौटी भनाइलाई आधार मान्दै कुनै राजनीतिक दलबाट प्रेरित भएर घटनालाई अघि बढाइएको भन्दै उनले आपत्ति जनाएका छन् । असार १८ गते साँझ विद्यालयका शिक्षकहरुको अनुरोधमा वडा अध्यक्ष हेटौंडा–१० स्थित असन गेष्ट हाउसमा पुगेको र राती साढे ९ बजेको समयमा खेलाडी विद्यार्थीहरुले हल्लाखल्ला गरेपछि हल्ला नगर्न अनुरोध गरेर साथीसंग कोठामा सुतेका वडा अध्यक्षलाई आरोप लगाइएको कांग्रेस नेताहरुको भनाई छ ।
आरोप प्रमाणित नभएको अवस्थामा सञ्चार माध्यममा वडा अध्यक्षले यौन दुर्व्यवहार गरेको समाचार आउँदा अचम्ममा परेको सभापति घिसिङले बताए । उनले प्रहरी प्रशासनलाई घटनाको विषयमा सत्यतथ्य छानबिनका लागि आग्रह गर्दै वडा अध्यक्षले गलत गरेको प्रमाणित भएमा कारबाही हुनुपर्ने समेत बताएका छन् ।
पत्रकार सम्मेलनमै उपस्थित भएका र घटना भएको भनिएको दिन वडा अध्यक्षसंगै एउटै कोठामा सुतेको दावी गरेका कैलाशका नवराज रुम्बाले अनाहकमा वडा अध्यक्षलाई फसाउन खोजिएको बताएका छन् । ‘मेरो छोरा पनि राष्ट्रपति रनिङशिल्ड खेल्न आएकोले वडा अध्यक्षसंगै म पनि उक्त होटलमा पुगेको थिएँ । सुत्ने तर्खर गर्दैगर्दा विद्यार्थीहरुले हल्लाखल्ला गरेपछि हामीले रातको समयमा नसुतेर किन हल्लाखल्ला गरेको भनेर सम्झाउँदै सुत्न गएका हौं’, रुम्बाले भने, ‘म राति करिब १ बजेसम्म मोबाइल चलाएर बसेको थिएँ, वडा अध्यक्ष निदाइसक्नुभएको थियो । तर यहाँ राति साढे ९ बजेको समयमा यौन दुर्व्यवहार गरेको भन्ने आरोप लगाएको सुन्दा अचम्म लागेको छ ।’
चुनाव हारेको चोटमा केही नेताले योजनाबद्ध रुपमा फसाउन खोजेको उनले आरोप समेत लगाए । बालिकामाथि यौन दुर्व्यवहारको घटना भएको पुष्टि भए कारबाही हुनुपर्ने माग गर्दै रुम्बाले अनाहकमा कसैलाई फसाउन नमिल्ने बताए ।
