दिगो विकास सहयोगको रुपरेखा सम्बन्धी प्रदेश स्तरीय परामर्श गोष्ठी
मकवानपुर । हेटौंडामा संयुक्त राष्ट्र संघीय दिगो विकास सहयोगको रुपरेखा सम्बन्धी पन्च वर्षीय तर्जुमाका लागि प्रदेश स्तरीय परामर्श गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी आज शुक्रबार प्रदेश नीति तथा योजना आयोगको आयोजनामा तथा संयुक्त राष्ट्र संघ नेपालको सहयोगमा भएको हो ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णराज पन्तले समाजबाद उन्मुख आर्थिक र सामाजिक व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले कार्यक्रम गर्दा कुनै पनि समस्या आउन नदिने गरी राख्नका लागि सुझाव दिए । उनले अब विकासका नाममा वातावरणको विनास हुनु नपर्ने बताउँदै आफुसँग भएका प्राकृतिक श्रोतलाई उपयोग गर्नुपर्नेमा जोड दिए ।
यस्तै, प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रलाद लामिछानेले तीनै तहका सरकालाई यसका बारेमा जानकारी गराएर कार्यान्वयन गर्नुपर्ने जोड दिए । शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा प्रदेश सरकारले प्राथमिकता दिएको बताउँदै उनले अहिले आएका सुझाबलाई समेटेर पन्च वर्षिय कार्यक्रम बनाउनका लागि आग्रह गरे ।
कार्यक्रममा संयुक्त राष्ट्र संघ नेपालका यौन शोषण तथा दुव्र्यवहारबाट संरक्षणका संयोजक तेज माया डंगोलले सन २०२३ देखि २०२७ सम्म हुने पन्च वर्षिय संयुक्त राष्ट्र संघीय दिगो विकास सहयोगको रुपरेखा सम्बन्धी कार्यक्रमका बारेमा प्रस्तुतीकरण दिएकी थिइन् ।
डंगोलले सहयोगको कार्यढाँचाको प्रकृया, समन्वय कार्यढाँचा तर्जुमाको कार्यतालिका, यसको परिवेश, यसको प्रक्रिया, प्रगती, प्राथमिकता र मुख्य विषयवस्तुहरु, राष्ट्रियता विश्लेषणमा आधारित परिवर्तनको सिद्धान्त, अन्तर सम्बन्धित प्राथमिकताका क्षेत्रहरु, दिगो तथा समावेशी आर्थिक रुपान्तरण, समावेशी र रुपान्तरणमुखी मानवीय विकास सम्बन्धी विषयलाई समेटेर प्रस्तुतीकरण दिएकी थिइन् ।
प्रदेश नीति तथा योजना आयोगका दशौ तहका अधिकृत सुकदेव सापकोटाले सहजीकरण गरेको कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय र बिभीन्न बिषयगत मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
