मृत भेटिइन् दलित महिला सदस्य
खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मृत अवस्थामा भेटिएकी छन् । ३० वर्षीया मेनुजा विश्वकर्मा आज बिहीबार बिहान मृत अवस्थामा भेटिएकी हुन् । मृत फेला परेकी छन् ।
माइतीतर्फका हजुरबुवाको मृत्यु भएपछि मंगलबार माइतीघर पुगेकी उनी झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनका श्रीमान् भूपेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा दुबई रहेको पारिवारिक स्रोतले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
उनी गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् । स्नातक तह उत्तीर्ण गरेकी उनी गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन् । उनी नेपाली कांग्रेस लामीडाँडाका वडा सभापतिसमेत रहेकी थिइन् ।
