माओवादीको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । असार १९ गतेदेखि काठमाडौंमा जारी माओवादीको केन्द्रीय समिति बैठकमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले छलफलमा नेताहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
बैठक बिहान ११ बजेपछि प्रज्ञा भवन कमलादीमा बस्ने गरी बोलाइएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना छ । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहले आजको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यहरुको नामावली प्रस्तुत गर्ने बताए ।
गत मंगलबारको पूर्वपदाधिकारीहरुको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य टुंगो लगाउने गृहकार्य गर्न भन्दै मंगलबार केन्द्रीय समितिको बैठक स्थगित गरिएको थियो । बुधबार पनि संसदमा सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको थियो ।
