बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण

तु खबर संवाददाता
२०७९ असार २१, मंगलवार १५:३४

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मंगलबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयनगर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

बागमती प्रदेशसभाको असार १६ गते बसेको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपाधारा (२) बमोजिम सभामुखबाट प्रमाणित विधेयकलाई प्रदेश प्रमुख शर्माबाट प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता समेत रहेका उपसचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयनगर्न बनेको विधेयकले राजश्व संकलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानून अकिृधत प्रकाश चापागाईंले जानकारी दिए ।