हेटौंडा उपमहानगरपालिकाको बजेट पारित

तु खबर संवाददाता
२०७९ असार २०, सोमबार १७:२१

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको नीति कार्यक्रम र बजेट पारित भएको छ । उपमहानगरपालिकाले गत असार १२ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट सोमबार बसेको एघारौं अधिवेशनको तेस्रो बैठकले पारित गरेको हो ।

बैठकले उपमहानगरपालिकाको अर्थ विधेयक २०७९ र विनियोजन विधेयक २०७९ लाई सर्वसम्मतीले पारित गरको छ । उपमहानगरपालिकाले आगामी आवको लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

प्रशासनिक खर्च ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकास तर्फ १९ करोड ६९ लाख ६६ हजार, सामाजिक विकास तर्फ, ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाखको बजेट प्रस्तुत गरिएको हो ।

यसैगरी, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ १२ करोड ६ लाख ८० हजार, सुशासन तथा संस्थागत विकासतर्फ ७ करोड ३३ लाख ५० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै, अन्य विविध कोषतर्फ ९९ लाख, प्रदेश सरकारबाट हस्तान्तरण गरिएको योजना ६ करोड ३ लाख ७० हजार रकम छुट्याइएको छ ।

उपमहानगरले खर्च व्यहोर्ने स्रोतका रुपमा आन्तरिक स्रोत ९४ करोड ३६ लाख ५३ हजार, राजस्व बाँडफाँट ५८ करोड ९३ लाख ७० हजार, प्रदेश सरकारको अनुदानबाट ९ करोड ५८ लाख ९४ हजार र संघीय सरकारबाट १ अर्ब ६ करोड ९५ लाख प्राप्त हुने जनाइएको छ ।