हेटौंडाबाट चोरी भएकोे मोटरसाइकलसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार बिहान इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले बागमती गाउँपालिका वडा नम्वर ७ को लामिटारबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सलार्ही बागमती–१ बस्ने सुकुम्बासी टोलका २५ वर्षीय राजु मोक्तान र बारा निजगढ–९ रतनपुर बस्ने ३३ वर्षीय लालकाजि घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, आइतबार हेटौंडा–१६ को सिपाली चोकबाट बागमती प्रदेश ००२ प ८४२३ मोटरसाइकल चोरी भएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा उक्त स्थानमा फेला परेपछि निजहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।
