सबै कम्युनिष्टहरु एकै ठाउँमा हुने गरी पहल गरिरहेका छौँ – प्रचण्ड
काठमाडौँ । सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने आफूहरूको प्रयास जारी रहने बताएका छन् । पार्टीको आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सबै कम्युनिष्टलाई एक ठाउँमा ल्याउन पहल भइरहेको बताए ।
उनले पूर्व माओवादीहरू एक ठाउँमा आइरहेको र नेकपा हुँदाका बहुमत सचिवालय सदस्यले वृहत कम्युनिष्ट पार्टी एकताका लागि अपिल जारी गर्ने प्रयास पनि भइरहेको बताए।
नेकपा हुँदा ९ जना सचिवालय सदस्य थिए । प्रचण्ड र नारायणकाजी श्रेष्ठ अहिले माओवादीमा छन् । माधवकुमार नेपाल र झलनाथ खनाल नेकपा (एकीकृत समाजवादी) मा छन् भने वामदेव गौतमले कम्युनिष्ट पार्टी एक बनाउने अभियान केही दिनअघि घोषणा गरेका छन् ।
नेकपाका थप चार सचिवालय सदस्य केपी शर्मा ओली, रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र विष्णु पौडेल भने अहिले एमालेमा छन् ।
