मुख्यमन्त्री बन्नकै लागि मरिहत्ते गर्दिन– बानियाँ
मकवानपुर । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले आफु मुख्यमन्त्रीको लागि मरिहत्ते नगर्ने बताएका छन् । आज एक टेलिभिजनमा कुराकानी गर्दै उनले नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पद नछोडे पदकै लागि आफु नहिड्ने बताए । कांग्रेस पद भन्दा पनि पद्दतिमा हिड्ने पार्टी भएकाले समाजवादीलाई हिजोको सहमति र सम्झौता भन्दा मुख्यमन्त्री प्यारो भएकोले आफुले पदकै लागि मरिहत्ते गरेर नहिड्ने बताए ।
उनले हालका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नै हस्तलिखित सम्झौता गरेको खुलाएका छन् । केहि समय अघि आलोपालो गर्नेगरी सहमति भएको लिखित बाहिरिएको थियो उक्त लिखित पाण्डे आफैले लेखेको बानियाँले खुलाएका छन् । उनले नेकपा समाजवादीले सहमति र सम्झौतालाई मान्दिन भन्नु राजनीतिमा इमान कम, पद बढी र बेमानिको शृंखलाको प्रारम्भ भएको बताएका छन् । तर, मौखिक र लिखित सहमति हुँदाहुदै पनि समाजवादीले मुख्यमन्त्री पद छाड्न नमानेपनी कांग्रेसले सस्कारको राजनीति गर्ने भएकाले गठबन्धनका दललाई धोका नदिने धारणा राखे ।
उनले यो सहमति र संझौताले दलका शिर्ष नेताको नैतिकतामाथि नै प्रश्न उठाएको बताउदै दोबाटोमा साथ दिनेलाई सानो तिक्तता आयो भन्दैमा कांग्रेसले साथ नछोड्ने बताए ।
नेकपा एकीकृत समाजवादीको हिजो बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमै छलफल गर्नुपर्ने निश्कर्ष निकालेको छ ।बागमती प्रदेशका मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर संकलन सुरु गरेका थिए । तर एकीकृत समाजवादीले भने मुख्यमन्त्री हेरफेरको विषय शीर्ष तहकै छलफलबाट टुंग्याउनुपर्ने बताएको हो ।
