बागमतीका मुख्यमन्त्री पाण्डेले बोलाए संसदीय दलको बैठक
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संसदीय दलको बैठक बोलाएका छन् । बैठक शनिबार बिहान ११ बजे बस्ने गरी बोलाएको नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश सांसद कुसुम कार्कीले जानकारी दिए ।
समसामयिक विषयमा छलफल गर्न मुख्यमन्त्रीले दलको बैठक बोलाइएको उनले बताए । बागमती प्रदेशमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन गरेपछि पाण्डे काठमाडौं गएका थिए ।
एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष रहेका पाण्डे गत कात्तिक ११ गते गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । ६ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व छोड्ने सहमती गर्दै मुख्यमन्त्री बनेका उनले सहजै सहमती कार्यान्वयन गर्ने नदेखेपछि कांग्रेस र माओवादीका सांसदहरुले हस्ताक्षर संकलन कार्य सुृरु गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेलाई तत्कालिन समयमा बागमती प्रदेशका कुल १०९ जना सांसदमध्ये ५९ सांसदको समर्थन रहेको थियो । मुख्यमन्त्री पाण्डेलाई माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाको एक सांसदको समर्थन गरेका थिए ।
