बेपत्ता भएका बालकको शव फेला
कैलाली । कैलारी गाउँपालिका–६ स्थित गौकन्द्री खोलामा केही दिनअघि साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका एक बालकको शव आज फेला परेको छ । धनगढी उपमहानगरपालिका–१९ जे गाउँका दीपक विकका ११ वर्षीय छोरा निखिलको शव घटनास्थलबाट ८०० मिटर दक्षिण गौकन्द्री खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार, बालकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढी पठाई थप अनुसन्धान कार्य भइरहेको छ । मृतक बालक यही असार १५ गते कैलारी–६ स्थित आफ्नो मामाघर गएको अवस्थामा गौकन्द्री खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए ।
