हेटौंडा उपमहानगरपालिकाद्वारा १० परिवारलाई बाख्रा वितरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आदिवासी जनजाति महिलाहरुलाई बाख्रा वितरण गरेको छ । उपमहानगरपालिकाले विभिन्न वडामा रहेको विपन्न समुदायका आदिवासी जनजाति महिलालाई बाख्रा वितरण गरेको हो ।
उपमहानगरपालिकाले दिगो आर्यआर्जनमा टेवा पुर्याउने लक्ष्यसहित प्रतिघर २ वटाका दरले १० परिवारलाई बाख्रा वितरण गरेको हो । उपमहानगरपालिकाले हेटौंडा–८ का कमला गुरुङ र प्रमिला चौधरी, हेटौंडा ११ का माया थापा मगर र उर्मिला गुरुङ, हेटौंडा १३ का उजेली कुमाल र सुनिता मुक्तान, हेटौंडा–१५ का कुमरी तामाङ, हेटौंडा–१६ का बिष्णुमाया प्रजा चेपाङ, हेटौंडा–१७ का निर्मला भुजेल र सरीता राईलाई बाख्रा वितरण गरेको हो ।
उक्त बाख्रा एक कार्यक्रमबीच उपमहानगरका उपप्रमुख राजेश बानियाँले उनीहरुलाई हस्तान्तरण गरेका हुन् । उपमहानगरको समाजकल्याण शाखाले २ लाख १५ हजार १ सय रुपियाँको लागतमा २० वटा बाख्रा खरीद गरेको थियो । हस्तान्तरण कार्यक्रम नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषल मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षता भएको हो ।
