बागमती प्रदेशमा मेरो नेतृत्वमा सरकार परिवर्तन हुन्छ – इन्द्र बानियाँ
मकवानपुर । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा सरकार परिवर्तन हुने बताएका छन् । कांग्रेसका प्रदेश सभापतिसमेत रहेका बानियाँले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार आफ्नो नेतृत्वमा चाँडै सरकार गठन हुने बताए ।
विहिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बानियाँले सरकार परिवर्तनको लागि आवश्यक प्रक्रिया मिलाउनका लागि मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन सुरु गरिएको बताए ।
उनले भने ‘सरकार परिवर्तनको प्रक्रिया अब सुरु भयो । प्रक्रिया मिलाउनै हस्ताक्षर संकलन गरिएको हो । संकलित हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएपछि मेरो नेतृत्वमा सरकार परिवर्तन हुन्छ ।’ हस्ताक्षर संकलनको विषयमा मुख्यमन्त्री पाण्डे समेत जानकार रहेको पनि बानियाँले बताए । ‘मुख्यमन्त्री परिवर्तनमा नेकपा एस पनि सहमत छ । हस्ताक्षर संकलन सहमति मै भएको हो ।’ उनले भने ।
पूर्वसहमति अनुसार कांग्रेसले नेतृत्व लिनेगरी समाजवादीका सांसदको पनि हस्ताक्षर संकलन गर्दै बहुमत जुटाएर प्रदेश प्रमुखलाई बुझाइने बताए । हालसम्म कांग्रेसका २२ र माओवादी केन्द्रका २३ सांसदको हस्ताक्षर संकलन भइसकेको छ । बागमतीमा बहुमतको सरकार बन्नका लागि भने ५४ सांसद चाहिन्छ ।
