थप ५५ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ९८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १ हजार ५३२ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार १६६ जनाको एन्टीजेन परीक्षणमा १९ जना गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार १६७ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना संक्रमणमुक्त भएका छन् भने कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल देशभर २८० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २७४ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।
