बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बिहीबार प्रदेशसभाको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेट बहुमतले पारित भएको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
प्रदेशसभाको आज बसेको तीन चरणको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयक, अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ माथि छलफल भएको थियो । प्रदेशसभाको बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बहुमतले स्वीकृत गरेको छ भने आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले प्रस्तुत गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ माथि छलफल गरी पारित गरिएको छ ।
बिहीबार विहान ११ बजेदेखि बसेको बैठकमा सरकारले ल्याएको आगामी आवको बजेट अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकहरु माथि सांसद्हरुले खर्च कटौतीको प्रस्ताव गरेका थिए । बैठकमा सरकारको विभिन्न मन्त्रालय र निकायहरुको बजेटका शीर्षकहरु माथि १९ जना सांसद्हरुले खर्च कटौतीको प्रस्ताव राखेका थिए ।
खर्च कटौतीको प्रस्ताव राख्नेहरुमा क्रमशः विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्याल, नेमकीपा बागतमी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइ, नेमकीपाकी सांसद् सृजना सैन्जु, विवेकशील साझाकी सांसद् शोभा शाक्य, राप्रपाकी सांसद् रिना गुरुङ, नेकपा एमालेका सांसदहरु गोमा भूर्तेल, आशामाया तामाङ, विनोद कुमार खड्का, नारायण प्रसाद सिलवाल, दिपक निरौला, सरस्वती बस्नेत, मैना अछामी, राजेश शाक्य, बेलीमाया घले, प्रकाश श्रेष्ठ, रामेश्वर फुयाल, सरेश नेपाल र सीता लामा रहेका छन् ।
यस्तै, आज बसेको प्रदेशसभाले प्रदेश सरकारको आगामी आर्थिक वर्षको लागि ल्याएको विनियोजित बजेट बहुमत पारित गरेको छ । बैठकमा सभामुख श्रेष्ठलेले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जम्मकट्टेललाई उक्त विधेयक संसदमा पास गरियोस् भनि प्रस्ताव पेश गर्न अनुमति दिएका थिए । मन्त्री जम्मकट्टेलले उक्त विधेयक पारित गरियोस् भनि संसद्मा प्रस्ताव पेश गरेकोमा बहुमतले पारित गरेको हो ।
प्रदेश सरकारले आगामी आवको लागि गत असार १ गते कुल ७० अर्ब ९३ करोड रुपैयाँ अनुमानित बजेट ल्याएको छ । तीमध्ये कुल बजेटमध्ये चालुतर्फ १९ अर्ब २ करोड रुपैयाँ, पुँजिगततर्फ ४१ अर्ब ५६ करोड रुपैयाँ, वित्तिय हस्तान्तरण तर्फ ८ अर्ब रुपैयाँ र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
