चितवनका ५० हजारभन्दा बढी परिवार बाढीको जोखिममा
चितवन । चितवनमा बाढी पहिरोबाट ५० हजारभन्दा बढी घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, जिल्लामा ५० हजार ५०० घरपरिवार बाडीको जोखिममा रहेका छन् ।
जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् भने बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलले जानकारी दिइ । उनका अनुसार, भरतपुर महानगरपालिकामा ३० हजार परिवार, माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ ।
यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३००, कालिकाका १००, राप्तीका २०० तथा इच्छाकामना गाउँपालिकाका १२५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी र पहिराको खतरा बढेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अशमान तामाङले सबैलाई आग्रह गरेका छन् ।
