उद्योग क्षेत्रका नीति निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने : मन्त्री श्रेष्ठ
मकवानपुर । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्योग वाणिज्य क्षेत्रका नीतिहरु निर्माणमा प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्राथमिकताका साथ अघि बढाउने बताएका छन् ।
बुधबारको प्रदेशसभाको बैठकमा सरकारको बजेट माथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले विगतमा निर्माण हुन नसकेका धेरै किसिमका उद्योग वाणिज्य क्षेत्रका नीतिहरु निर्माणमा प्रदेश सरकारले आगामी आवमा प्राथमिकताका साथ अघि बढाउने बताएका हुन् ।
उनले सरकारले उद्योग तथा आपूर्ति क्षेत्रका सेवाग्राहीको सहजताको लागि अनलाइनबाटै सेवा लिन सक्ने व्यवस्था मिलाउने तयारी भइरहेको बताए । सरकारले रुग्ण उद्योगहरुको संचालनको लागि संघीय सरकारसंग सहकार्य भइरहेको र त्यसका लागि प्रदेश सरकारले आवश्यक पहल गरिरहेको उनको भनाई छ ।
सरकारले साना तथा मझौला उद्योगीहरुको विकासका लागि तालिमहरूको व्यवस्था गर्ने उनले बताए । उनले स्थानीय तहमा उत्पादित सामग्रीहरुको ब्राण्डिङको लागि आवश्यक पहल गरी कार्यान्वयन गरिने उनले बताए ।
बागमती प्रदेश सरकारले प्रदेश भित्र रहेका ४ वटा औद्योगिक क्षेत्रको विकासका लागि प्रदेश मातहतमा ल्याउने पहल भइरहेको र मातहतमा आए लगत्तै विकासका योजनाहरु ल्याउने उनले बताए ।
