निर्माणाधिन हेटौंडाको दुग्ध पाउडर आगामी वर्ष संचालनमा ल्याउने : मन्त्री हुमागाईँ
मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले आगामी वर्षमा हेटौंडाको दुग्ध पाउडर प्लान्टको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने बताएका छन् । मन्त्री हुमागाईँले बुधबारको प्रदेशसभाको बैठकमा सरकारको बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् ।
उनले आगामी २ वर्ष भित्रमा प्रदेशमा नै कृषि औजार कारखाना सञ्चालनमा ल्याउने बताए । उनले देशमा वार्षिक ८ अर्बको औजार खरिद भइरहेको बेला सो उद्योग स्थापन पछि कृषि औजार आयातमा कमी आउने बताए । उनले सो कारखाना स्थापनाको लागि २ महिनाभित्र प्रशासनिक कार्य सम्पन्न गरिने बताए ।
उनले दूधमा दिँदै आएको अनुशासनलाई व्यवस्थित गर्ने योजना लिएको उनले बताए । प्रदेश सरकारले रसायनिक मल कारखाना खोल्नका लागि सरकारले काठमाडौं विश्वविद्यालयसँग असार ८ गते नै सम्भाव्यता अध्ययनको सम्झौता भएको जानकारी दिँदै आगामी एक वर्षमा त्यसको प्रतिवेदन आएपछि त्यसको आधारमा रासायनिक मल कारखाना निर्माणको काम सुरु गर्ने बताए ।
यस्तै, प्रदेश सरकारले चितवनमा स्थापना गने भएको चकलेट उद्योगमा आवश्यक मेसिनको व्यवस्था गरी उत्पादन सुरु गर्ने उनको भनाई छ । त्यस्तै, २ महिनाभित्र कृषक परिचयपत्र वितरणको प्रक्रिया सम्पन्न गरिने उनले बताए । विगतको सरकारले बनाएको १० वटा शीत भण्डार चल्न नसकेको उनको भनाई छ ।
