सशस्त्र प्रहरी बलले सात वटै प्रदेशमा उद्दार टोली खटायो

तु खबर संवाददाता
२०७९ असार १५, बुधबार १५:२४
file-photo

काठमाडौं । सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनका लागि तालिम प्राप्त २०३४ जनशक्तिलाई देशभर खटाएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विपद व्यवस्थापनको विशिष्टकृत तालिम लिएका ती जनशक्तिलाई सशस्त्र प्रहरीले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि परिचालन गरेको हो ।

विपद् व्यवस्थापनका लागि तालिम प्राप्त जनशक्तिलाई काठमाडौं उपत्यकाभित्र दुई स्थानमा र बाँकी ७ वटै प्रदेशमा प्रदेश स्तरीय विपद् उद्दार टिम खटाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विदुर खड्काले जानकारी दिए ।

उनका अनुसार १० स्थानमा दक्ष तालिम प्राप्त जनशक्ति परिचालन गरेर तयारी अवस्थामा राखिएको छ । यसरी खटाइएकामध्ये ५६ जना गोताखोरको तालिम प्राप्त जनशक्ति छन् । सशस्त्र प्रहरीले प्रदेश १ को सुनसरी, बागमतीको कुरिनटार, काठमाडौं उपत्यका, गण्डकी प्रदेशको पोखरा, लुम्बिनीको शमशेरगञ्ज र सुदूपश्चिमको कैलालीमा गरी ६ स्थानमा तयारी अवस्थामा राखिएको जनाएको छ ।

उनीहरुलाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र प्रादेशिक आपतकालीन कार्य सञ्चालन केन्द्र तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रहरुमा पनि आवश्यकता अनुसार कर्मचारीहरु परिचालन गरिएको खड्काले बताए ।