पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध

तु खबर संवाददाता
२०७९ असार १५, बुधबार ०९:२४
file-photo

मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ रामचन्द्र भञ्ज्याङस्थित गएराति वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकहरुले हटाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीमा प्रहरी निरीक्षक प्रतिमा कार्कीले जनाएको छ । उनका अनुसार, हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने कुलेखाने–फाखेल सडकखण्ड भने संचालनमा छ ।

यस्तै, हृेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड पनि वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध भएको छ । ललितपुर जिल्लाको भट्टेडाँडा गारोखोलामा वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड पनि अवरुद्ध रहेको इलालका प्रहरी कार्यालय ठिंगनले जनाएको छ । बर्खायाम लागेसँगै विभिन्न स्थानहरुमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ ।