बागमती प्रदेशसभाको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले आजको बैठक समापन गर्दै भोलि बिहान ११ बजेसम्मका लागि प्रदेशसभा स्थगित गरेका हुन् ।
प्रदेशसभाको आज दुई वटा बैठक बसेको थियो । दुबै बैठकमा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेटको विषयगत मन्त्रालयका शिर्षकहरु माथि छलफल भएको थियो ।
बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश लोक सेवा आयोग, प्रदेश नीति तथा योजना आयोग, मुख्यन्यायाधिवक्ताको कार्यालयका विभिन्न शिर्षकहरुमा छलफल भएको थियो ।
छलफलमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका २६ जना प्रदेशसभा सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा सत्तापक्षका सांसद्हरुले विगतको तुलनामा वर्तमान सरकारले राम्रा र उपलब्धीमूलक योजनाहरु ल्याएको बताएका थिए ।
उनीहरुले विगत साँढे ३ वर्षसम्म सरकारको नेतृत्व गरेर ४ वटा बजेट ल्याउने सरकारका मन्त्री र सांसद्हरुले वर्तमान सरकारको आलोचना गर्नु अर्थहिन हुने बताए । उनीहरुले विगतका सरकारले गर्न नसकेका कामहरु वर्तमान सरकारले गर्ने प्रयत्न गरेको बताए ।
यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद्हरुले बजेटमा असमान वितरण गरेर जनतालाई अहित हुने काम गरीरहेको आरोप लगाए । उनीहरुले सरकारले जनताको हितमा भन्दा पनि पार्टी कार्यकर्ता र चुनावमुखी बजेट ल्याएको आरोप लगाए ।
सरकारले ल्याएको वडा–वडामा समाजवाद भन्ने कार्यक्रम पनि औचित्यहिन भएको उनीहरुको भनाई छ । सरकारले मन्त्रालयहरुमा समेत विभेद गरेर लाभान्वित हुने नागरिकको तथ्याङ्क नै नहेरी कुनै मन्त्रालय २४ करोड रुपैयाँ मात्र र कुनै मन्त्रालयलाई २४ अर्ब रुपैयाँसम्मको बजेट वितरण गरेको भन्दै आपत्ती जनाए ।
उनीहरुले प्रतिपक्ष दलका सांसद्हरुले नीति तथा कार्यक्रममा सरकारलाई दिएको सुझावहरुलाई समावेश गरी समग्र प्रदेशको अवस्थाको मध्यनजर गरेर बजेट पुर्नलेखन गर्न सरकारसंग माग गरेका छन् ।
