बागमती प्रदेशसभा बैठक : सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की
मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल भएको थियो । बैठकमा सत्तापक्ष र प्रतिपक्षका १७ जना सांसदहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश लोक सेवा आयोग, प्रदेश नीति तथा योजना आयोग, मुख्यन्यायाधिवक्ताको कार्यालयका विभिन्न शिर्षकहरुमा छलफल भएको थियो ।
बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच बजेटका विषयमा चर्काचर्की परेको थियो । बैठकमा सत्तापक्षका सांसद्हरुले विगतको तुलनामा राम्रा र उपलब्धीमूलक योजनाहरुमा बजेट विनियोजन गरेको बताएका थिए ।
उनीहरुले विगत साँढे ३ वर्षसम्म सरकारको नेतृत्व गरेर ४ वटा बजेट ल्याउने सरकारका मन्त्री र सांसद्हरुले वर्तमान सरकारको आलोचना गर्नु अर्थहिन हुने बताएका थिए । विगतका सरकारले गर्न नसकेका कामहरु वर्तमान सरकारले गर्ने प्रयत्न गरेको उनीहरुको भनाई छ ।
यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद्हरुले प्रदेश सरकारले जनताको हित हुने भन्दा पनि आफ्नो कार्यकर्ता पोस्नेआलको योजनाहरु ल्याएको आरोप लगाए । सरकारले ल्याएको वडा वडामा समाजवाद भन्ने कार्यक्रम पनि औचित्यहिन भएको उनीहरुको भनाई छ ।
प्रतिपक्षका सांसदहरुले प्रदेश सरकारले मन्त्रालयहरुमा समेत विभेद गरेर लाभान्वित हुने नागरिकको तथ्याङ्क नै नहेरी कुनै मन्त्रालय २४ करोड रुपैयाँ मात्र र कुनै मन्त्रालयलाई २४ अर्ब रुपैयाँसम्मको बजेट वितरण गरेको बताए ।
