बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०७९ असार १४, मंगलवार ०८:१६

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज मंगलबार पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार, आजको बैठकमा बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयगत मन्त्रालय र शिर्षकमाथि छलफल हुनेछ । आज ५ मन्त्रालयसहित प्रदेशसभा सचिवालय, प्रदेश लोकसेवा आयोग, प्रदेश नीति तथा योजना आयोगको बजेटको विगायगत शिर्षकहरुमाथि छलफल हुनेछ ।

प्रदेशसभाको सोमबार बसेको दोस्रो बैठकमा ९ वडा मन्त्रालयहरु माथि छलफल भएको थियो । सोमबार संस्कृति तथा पर्यटन मन्त्रालय, उद्योग वाषिज्य तथा आपूर्ति मन्त्रालय, भमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय, श्रम राजगार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालयको माथि छलफल भएको थियो ।

बैठकामा सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका २० जना सांसद्हरुले विषयगत मन्त्रालयको बजेट माथि आ–आफ्नो धारणा राखेका थिए । बैठकमा सत्तापक्षका सांसद्हरुले बजेटले विगतको असन्तुलन र कमिकमजोरीलाई सुधार गर्ने काम गरेको बताए । उनीहरुले जनताको हितमा हुने प्रकृतिको गर्न सकिने योजनाहरु मात्र सरकारले ल्याएको बताएका थिए ।

त्यस्तै, बैठकमा प्रमुख प्रतिपक्ष दलसहित प्रतिपक्ष दलका सांसद्हरुले सिमेन्ट उद्योगबाट लिँदै आएको प्राकृतिक स्रोतको उपयोग वापतको कर खारेजीप्रति आपत्ती जनाएका थिए । सरकारले आम्दानीको स्रोतको रुपमा रहेको राजस्व तथा करहरुलाई सिमेन्ट उद्योगको जस्तै खारेज गर्दै जाँदा प्रदेश सरकारको औचित्य माथि नै प्रश्न चिन्ह खडा हुने उनीहरुको भनाई छ ।

उनीहरुले प्रदेश सरकारले आगामी आवको लागि आफ्ना कार्यकर्ता पोस्ने र चुनावी योजनाहरु समावेश गरेर बजेट ल्याएको आरोप लगाए थिए । सरकारले कृषि क्षेत्रको विकासका लागि कृषकहरुलाई दिँदै आएको अनुदानहरु कटौती गरेर त्यसको बदलामा कार्यकर्तालाई पोस्ने गरी टुक्रे योजनाहरु समावेश गरेको उनीहरुको आरोप छ ।

यस्तै, सोमबार नै बसेको पहिलो बैठकमा प्रदेश सरकारको तर्फबाट प्रस्तुत भएको विनियोजित बजेट २०७९ संसदमा छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको थियो । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई विनियोजित बजेट संसदमा पेश गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएका थिए ।

अर्थमन्त्री जम्कट्टेलले संसदमा पेश गरेको सो प्रस्तावको प्रमुख प्रतिपक्ष दलका सांसदहरु नदेखिएपछि सभामुख श्रेष्ठले उक्त विधेयक संसदमा छलफलका लागि  स्वीकृत भएको घोषणा गरे ।